सौराहामा धमाधम नयाँ होटल
दीपेन्द्र बडुवाल
सौराहा (चितवन), २०६६ पुस ८ – पर्यटन वर्ष २०११ लाई लक्षित गरी यहाँ स्तरीय होटल धमाधम निर्माण भइरहेका छन् ।
नयाँ थपिने क्रम बढेपछि प्रतिस्पर्धामा आउन पुरानाले क्षमता वृद्धि गर्न थालेका छन् । राप्ती किनारमा फैलिएको सौराहामा आकर्षक संरचना निर्माणको होड चलेको छ । विदेशी र स्वदेशी पर्यटकले खोजेका सुविधा उपलब्ध गराउन व्यवसायी जुटेका छन् ।
क्षेत्रीय होटल एसोसिएसन अध्यक्ष हरिभक्त घिमिरे आगामी २ महिनाभित्र आफ्नो होटल निर्माणको काम सक्दै छन् । होटलमा आधुनिक सुविधाका साथै थारू संस्कृति झल्किने डेकोरेसन गरिएको छ । ‘पर्यटकको चितबुझ्दो बनाउँदै छु,’ यसै क्षेत्रमा २५ वसन्त बिताएका घिमिरेले भने, ‘दुई महिनापछि सेवा प्रदान गर्ने तयारीमा छु ।’
उनका अनुसार यहाँ आधा दर्जन नयाँ होटल निर्माणाधीन छन् । केही होटलका संरचना र नाम नै बदलिएको छ । यहाँका ३० प्रतिशत होटलले कोठा थप गरेका छन् । हाल यहाँ ६७ होटल सञ्चालनमा छन् । व्यवसायीका अनुसार यहाँ जंगल वल्र्ड रिर्सोट, मोनालिसा जंगल रिर्सोट, नेचर हेरिटेज रिर्सोट, जंगल सफारी लज गरी आधा दर्जन होटल निर्माणाधीन छन् । यसै वर्ष सतनचुली वाइडलाइफ भ्यू रिर्सोट र अल्का रिर्सोट क्याम्पले सेवा सुरु गरेका छन् ।
‘पर्यटन वर्षको तयारीमा व्यवसायी जुटिसकेका छन्,’ व्यवसायी शंकर सैंजुले भने, ‘होटलमा ठूलो लगानी गर्ने बढेका छन् ।’ उनी स्वयंले होटलको क्षमता वृद्धि गरेको बताए । सीमित लगानी गरेकाहरूले समेत अहिले बढाएका छन् ।
अत्याधुनिक सेवा उपलब्ध गराउने होड चलेपछि होटलको रूपरङ नै फेरिएको छ । द्वन्द्वका क्रममा जीर्ण बनेका होटलको पुनर्निर्माणसमेत चलिरहेको छ । ‘सबैले मर्मत र रङरोगन गरेका छन्,’ सैंजुले भने, ‘कोठा थप्नेको संख्या अधिक छ ।’
व्यवसायीका अनुसार गत वर्ष यहाँका होटलमा १ हजार ४ सय बेड क्षमता थियो । यो वर्ष बढेर १ हजार ७ सय पुगेको छ । होटलमा कम्तीमा १० र बढीमा ३४ कोठा रहेका छन् ।
पर्यटक आकषिर्त गर्न पौडी पोखरी थप्न थालेका छन् । हालै नेचर सफारी क्याम्पले ‘स्विमिङ पुल’ बनाएको छ । त्यसअघि राइनो रेसिडेन्सी, बाघमारा वाइडलाइफ क्याम्पमा पोखरी थियो । यहाँ पर्यटकको सुविधाका राप्ती किनारमा १२ वटा रेस्टुरेन्ट छन् ।
द्वन्द्वका बेला सिजनमा पनि बढीमा २० प्रतिशत होटलमा मात्रै पर्यटक हुन्थे । ‘अहिले सय प्रतिशतमा पर्यटक भरिन्छन्,’ सैंजुले भने, ‘आन्तरिक पर्यटकको वृद्धिले उत्साह छाएको छ ।’ अहिलेको पर्यटक नआउने सिजनमा समेत क्षेत्रीय होटल एसोसिएसनले आयोजना गर्ने हात्ती महोत्सवका कारण धमाधम बुकिङ भइरहेको छ ।
हात्तीदौडको आयोजनाले पर्यटक आगमनमा क्रिसमस र अंग्रेजी नयाँ वर्षले समेत प्रभाव पार्दैन । पर्यटनमा भएको उत्साहजनक वृद्धिले यहाँ नयाँ लगानी समूह भित्रिने सम्भावना बढाएको व्यवसायीले बताएका छन् ।
